Rule 17
बन पैदावार सङ्कलन गर्न सकिने परिमाण
(१) प्रत्येक वर्ष डिभिजन वन कार्यालयले आफ्नो कार्यक्षेत्र भित्र पर्ने जिल्लाको काठ, दाउराको माग र आपूर्तिको. आकलन गरी उत्पादनको मात्रा निर्धारण गर्नु पर्नेछ।

(२) वन पैदावार संङ्कलन गर्दा सम्बन्धित वन व्यवस्थापन पद्धति बमोजिमको स्वीकृत कार्ययोजनामा तोकिएको वार्षिक स्वीकार्य कटान परिमाणमा नबढ्ने गरी सङ्कलन गर्नु पर्नेछ।

(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि बाढी, पहिरो, हिमपात, हावाहुरी, आगजनी, कीरा र रोगको सङ्क्रमण जस्ता विपद्जन्य घटनाका कारण वन पैदावारको क्षति हुन गई वन पैदावार सड्ने वा नासिने भएमा त्यस्ता वन पैदावारलाई वनक्षेत्रबाट सङ्कलन गर्न कार्ययोजनाले तोकेको वार्षिक /स्वीकार्य कटान परिमाण भन्दा बढी कटान गर्न सकिनेछ।

(४) उपनियम (३) मा उल्लिखित विपद्जन्य घटनाका कारण वन पैदावारको क्षति हुन पुगेमा डिभिजनल वन अधिकृत वा निजले खटाएको वन अधिकृतले तत्काल स्थलगत निरीक्षण गरी घटनाको मिति र क्षतिको प्रारम्भिक विवरण सहित जिल्ला विपद्‌ व्यवस्थापन समितिलाई जानकारी दिनु पर्नेछ।

(५) उपनियम (४) मा उल्लेख भए बमोजिम क्षति हुन पुगेको वन पैदावारको मापन तथा लगत मूल्याङ्कन गरी डिभिजनल वन अधिकृतले जिल्ला विपद्‌ व्यवस्थापन समिति र प्रदेश वन निर्देशकको सिफारिसमा प्रदेश मन्त्रालयको स्वीकृति लिई त्यस्तो वन पैदावार सङ्कलन तथा/बिक्री वितरण गर्न सक्नेछ।

(६) उपनियम (५) बमोजिम काठ, दाउरा सङ्कलन भएपछि कार्ययोजनाको वार्षिक स्वीकार्य कटान परिमाणलाई पुनरावलोकन गरी कार्ययोजनामा समावेश गर्नु पर्नेछ।

(७) अन्तरप्रादेशिक वन र वन संरक्षण क्षेत्रमा उपभोक्ता समूहले व्यवस्थापन गरेका वन बाहेकका वनबाट उपनियम (३) बमोजिमको वन. पैदावार सङ्कलन गर्नु पर्ने भएमा डिभिजन वन कार्यालयले निर्देशनालयको सिफारिसमा विभागको स्वीकृति लिनु पर्नेछ।